भूकम्प पीडितलाई राहत पठाउँदै विराटनगरका उद्योगी

विराटनगर । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित नागरिकका लागि विराटनगरका उद्योगीले समेत राहत रकम पठाउन थालेका छन् । गत कातिक १७ गते रातीको भूकम्पबाट प्रभावित नागरिकलाई तत्काल राहतस्वरुप सहयोग रकम उपलब्ध गराउन थालिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले एकलाख २१ हजार १११ रुपिँया राहत रकम उपलब्ध गराउने घोषण गरेको छ । महासंघका अध्यक्ष राजेन्द्र राउतले सोमबार एक विज्ञप्ती प्रकाशित गर्दै घटनाप्रति दुःख व्यक्त गर्दै यस्तो अवस्थामा यथासक्दो सहयोग उपलब्ध गराउन जिल्ला, नगर उद्योग वाणिज्य संघसँग आह्वान समेत गर्नु भएको छ ।

अध्यक्ष राउतले आर्थिक लगायत राहत सामग्री लत्ताकपडा, खाद्यान्न, औषधी, पानी जस्ता अत्यावश्क सामग्रीहरु उपलब्ध गराई उद्धार कार्यमा सहयोग पु¥याउन समेत अपिल गर्नु भएको छ । त्यसका लागि नेपाल उद्योग वाणिज्य महासंघले कार्यकारी निर्देशक राधारमण भण्डारीसँग सम्पर्क गर्न समेत जिल्ला नगर संघहरुलाई अनुरोध गरेको छ ।