‘सबै उद्यमी-व्यवसायीलाई अपनत्व अनुभव गराउनेछौं’

‘सबै उद्यमी-व्यवसायीलाई अपनत्व अनुभव गराउनेछौं’

नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको नवनिर्वाचित कार्यसमितिको पदस्थापन गरिएको छ । अध्यक्ष राजेन्द्र राउतसहित पदाधिकारीको विराटनगरमा आयोजित कार्यक्रममा पदस्थापन गरिएको हो ।

६ वर्षअघि प्रदेश उद्योग वाणिज्य महासंघको सबै प्रदेशमा प्रदेशस्तरीय संरचना बनेका थिए ।

पदस्थापन कार्यक्रममा अध्यक्ष राउतले आफ्नो नौ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन् । उनले ती योजना आफूसहितको टिमले कार्यकालमा पूरा गर्ने प्रतिबद्धता पनि जनाए ।

कोसी प्रदेशका ठूला उद्योगी व्यवसायी, मझौला तथा साना उद्यमी, घरेलु र कुटिर उद्योगी–व्यवसायी, महिला उद्यमी सबैले अपनत्व गर्न सक्ने संस्थाको रूपमा नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशलाई स्थापित गर्ने बताए ।

प्रदेश उद्योग वाणिज्य महासंघको संगठन विस्तार गर्दै आर्थिक रूपले पनि संस्थालाई मजबुत बनाउने उनको योजना छ ।


प्रदेशभरिका औद्योगिक–व्यावसायिक प्रतिष्ठानहरूको कम्प्युटर अभिलेखकरण गरी कोशी प्रदेशको उद्योग व्यवसाय क्षेत्रको वस्तुगत अवस्था जानकारी लिई आइपर्ने समस्या समाधानमा सरोकारवाला निकायहरुसँग पहल गर्ने राउतले बताए ।

कोशी प्रदेशको आर्थिक प्रोफाइल बनाउने कार्य पूरा गर्ने, महासंघको स्थायी भौतिक संरचना, सुव्यवस्थित सचिवालयका लागि प्राथमिकतामा राख्ने उद्योग वाणिज्य क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने सरकारी निकायहरुसँग समन्वय गरी समस्या समाधानमा पहल गर्ने प्रतिवद्धता उनले व्यक्त गरे ।

आयात–निर्यात व्यापारका क्रममा सीमा क्षेत्रमा देखिने क्वारेन्टिनलगायत समस्या समाधानमा अग्रसरता लिने, क्षेत्रबाट पर्यटन विकास र प्रवर्द्धनका लागि विशेष कार्ययोजनाका साथ कार्यक्रम सञ्चालन गर्ने योजना राउतको छ ।

हाल महासंघमा आबद्ध भएका परियोजनाहरू सहज, समृद्धि हेल्भाटास, फाउन्ड परियोजनाको सहकार्यलाई निरन्तरता दिँदै आगामी दिनमा अन्य परियोजनाहरू ल्याएर सेवा दिने योजना कार्ययोजना राउतले प्रस्तुत गरेका थिए ।

यसैबीच, कार्यसमितिमा सरु केसी र देवकीनन्दन अग्रवाललाई अध्यक्ष राउतले सदस्य मनोनीत गरेका छन् ।

यसैगरी यमबहादुर श्रेष्ठ, नवराज घिमिरे, मेघराज सिग्देल, मनोजविक्रम शाह, विजय श्रेष्ठ, विनोद बस्नेत र रामहृदय रायलाई आमन्त्रित सदस्यमा मनोनीत गरिएको छ ।

 

Releated Attachment : 1685009321_IMG_3323.JPG