महिला उद्यमीका लागि उपलब्ध अवसर र चुनौती सम्बन्धी अन्तरक्रिया

महिला उद्यमीका लागि उपलब्ध अवसर र चुनौती सम्बन्धी अन्तरक्रिया

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा कोशी प्रदेशको औद्योगिक कोरिडोर क्षेत्रमा महिला उद्यमीका लागि उपलब्ध अवसर र चुनौती सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा सहभागी महिला उद्यमीहरुले उद्यमशीलताको लागि सुचनाको पहुँचमा कमी, व्यवसाय सञ्चालनका लागि झन्झटिलो कानूनी प्रक्रिया, स्थानीय सरकारबाट सञ्चालन गरिएका उद्यम विकास सम्बन्धी कार्यक्रमहरु पहँच आधारित हुने र वास्तविक उद्यमीहरु उक्त अवसरबाट वञ्चित भएको, बैंक तथा वित्तीय संस्थाहरुबाट भएको कर्जा प्रवाह न्यायोचित नभएको सबै उद्योग प्रतिष्ठानलाई एकै नजरले हेर्ने गरिएकाले पनि लघु तथा घरेलु उद्यमीहरु मर्कामा परेको बताएका थिए । कार्यक्रममा सहभागीहरुले व्यवसायिक प्रवर्द्धनका लागि स्थापना भएका संघसंस्थामा वास्तविक महिला उद्यमीहरूको प्रतिनिधित्व नभएको कारण महिला उद्यमीहरूको आवाज अहिलेसम्म बुलन्द हुन नसकेको कुरा बताएका थिए । उक्त कार्यक्रममा कम्यूनिटी इन्गेजमेन्ट्स एण्ड आउटरिच प्रा.लि.का डेप्यूटी टिम लिडर अनिरुद्र न्यौपानेले महिला उद्यमीका लागि उपलब्ध अवसर र चुनौतीका बारे प्रस्तुती दिनु भएको थियो ।

कार्यक्रमका सभाध्यक्ष सरु केसीले सोच, सुचना, सम्पर्क, समन्वय र सहकार्यबाट मात्र उद्यमशीलताको विकास हुने कुरा बताउदैं महिला उद्यमीहरुलाई व्यवसाय प्रबद्र्धनका लागि सहयोग गर्न नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश सदैव तयार रहेको बताउनु भएको थियो । कार्यक्रममा सामाजिक विकास मन्त्रालय कोशी प्रदेश र स्थानीय तहका उद्यम विकास शाखाका प्रतिनिधिहरुले प्रदेश र स्थानीय सरकारले सञ्चालन गरेका उद्यम विकास सम्बन्धी कार्यक्रम र सेवा प्रवाह सम्बन्धि जानकारी गराएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश महिला उद्यम विकास समितिका सभापति सरु केसीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कोशी प्रदेशको पाँच वटा स्थानीय तह विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, बुढीगंगा र कटहरी गाउँपालिका करीब २५ महिला उद्यमीहरु सहित ३५ जनाको सहभागिता रहेको थियो ।