कृषि क्षेत्रको विकासमा निजी क्षेत्रको साझेदारीमा जोड

कृषि क्षेत्रको विकासमा निजी क्षेत्रको साझेदारीमा जोड

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको आयोजनामा कृषि क्षेत्रमा सार्वजनिक–निजी साझेदारी संवाद कार्यक्रम सम्पन्न भएको छ । 

त्यसअवसरमा महासंघ कोसी प्रदेश अध्यक्ष राजेन्द्र राउतले प्रदेशमा कृषि क्षेत्रको विकासमा निजी क्षेत्रको साझेदारी आवश्यक रहेको बताए । “कृषि क्षेत्रमा आवश्यक पर्ने स्रोत साधन र सिप तथा उपकरणहरूको विकास अनि विस्तारमा निजी क्षेत्र सहयोग गर्न तयार छ,” उनले भने । 

कार्यक्रममा मकालु एग्रो एन्ड फुडका सञ्चालक नितेश कार्कीले जुम्लाबाट स्याउ ल्याएर बजारीकरण गर्न थालिएको र आयातित स्याउको गुणस्तरबारे नियमन हुनुपर्नेमा जोड दिए ।

कृषि अभियन्ता जीवन प्रकाश राईले कृषि उपजमा अनुसन्धान र प्रचार सँगै हुनुपर्ने उल्लेख गरे । 

धरान कृषि बजारका प्रबन्धक लक्ष्मण भट्टराईले बजारीकरणका लागि उद्यमीहरूले कृषि क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष चेतन निरौलाले कृषिमा युवाहरूलाई आकर्षित गर्न सके कृषिमा व्यवसायीकरण बढ्ने बताए । 

कार्यक्रममा उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहालले सार्वजनिक–निजी साझेदारी संवादमा उठेका महत्त्वपूर्ण सुझावहरूलाई ग्रहण गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । 

कोसी प्रदेशको इनरुवादेखि काँकडभिट्टासम्मको करिडोरमा कृषि उत्पादनको बजार व्यवस्थापनमा मन्डहरूको स्थापना गर्न आवश्यक अध्ययनका लागि प्रदेश सरकार तयार रहेको बताए । 

कार्यक्रममा कृषिविज्ञ डा. राजेन्द्र उप्रेतीले कृषि क्षेत्रको विकासमा सार्वजनिक र निजी क्षेत्रबीच सहकार्यका सम्भावनाबारे कार्यपत्रमार्फत अवसरहरू औँल्याए ।

कार्यक्रममा कृषि क्षेत्रसँग सम्बद्ध ६० उद्यमीहरू सहभागी थिए । 

Releated Attachment : 1704440526_1.jpg