कोशीमा लगानीकर्ता सम्मेलन : नवउद्यमीलाई २० करोड लगानी प्रतिवद्धता

कोशीमा लगानीकर्ता सम्मेलन : नवउद्यमीलाई २० करोड लगानी प्रतिवद्धता

काठमाडौँ — कोशी प्रदेशका विभिन्न ८ क्षेत्रका नवउद्यमीहरुको उद्यमशिलता विकास र प्रवर्द्धनका लागि करिब २० करोड रुपैयाँ बराबरको थप लगानी प्रतिवद्धता आएको छ । बिहीबार विराटनगरमा आयोजित आध्यन्त एक्सलेरेटर कार्यक्रम अन्तर्गतको लगानी सम्मेलनमा सो प्रतिवद्धता आएको हो । 

नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेशको सहकार्यमा आध्यन्त फण्ड म्यानेजमेन्ट, प्रदेश लगानी प्राधिकरण, नेपाल कृषि बजार विकास कार्यक्रम, स्वीस कन्ट्याक्ट लगायतको सहभागितामा आयोजित सम्मेलनमा चिया, माछा, अलैंची, अचार लगायतका कृषि क्षेत्रसँग सम्बन्धित उद्योग स्थापना गरेका नवउद्यमीलाई आवश्यक लगानीको प्रतिवद्धता आएको छ ।

कार्यक्रममा आध्यन्त फण्ड अन्तर्गत आठ महिनाको अवधिमा उद्यम प्रवर्द्धन गरिएका आठ नवउद्यमीले आफ्नो उद्यमशिलताको क्षेत्र, लगानी र अवसरहरुबारे जानकारी गराएका थिए । इलामको रक्तकाली टी इस्टेट प्रालिका दिनेश माझी, विराट समूहका विष्णु आचार्य, दिव्यदृष्टि वेनेरेसन एण्ड एग्रो कन्सर्न प्रालिका बिष्णु पोखरेल, शिवबाबा आचार जुस उद्योगका दिनानाथ सिवाकोटी, एग्री सेन्टरका चन्द्र प्रसाद बस्नेत, मोङ्सुद कृषि फर्मका रोबिन राई, रिभर्स भेण्डिङ मेसिन नेपालका जोसेफ श्रेष्ठ र खेतीपाती अर्गानिक्सका प्रकृति गौतमले आफ्नो प्रस्तुति दिएका थिए ।

आध्यन्त एक्सेलेरेटर कार्यक्रम अन्तर्गत दश जना उद्यमीहरूले आफ्नो व्यवसाय निर्माण र विस्तारका विभिन्न क्षेत्रमा तालिम प्राप्त गरेका छन् । उनीहरुमध्ये बिहीबार आयोजित कार्यक्रममा आठ जना उद्यमीहरुले आफ्नो उद्यमबारे जानकारी गराएका थिए । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा राजनीतिक स्थायित्व नभएका कारण आर्थिक क्षेत्रको विकास समेत प्रभावित भएको बताए । उनले सबै क्षेत्रको सहयोगमा कृषि र पर्यटन क्षेत्रलाई अघि बढाउनु पर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले उद्यमशिलताको विकास र नविनतम खोजलाई प्रवर्द्धन गर्दै नव उद्यमीको क्षमता विकासमा निजी क्षेत्रले सधैं सहयोग गर्दै आइरहेको बताए ।